काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी अघि बढाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले रिजल्ट सकेसम्म चाँडो सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
भट्टराईले भने, ‘एसईईको रिजल्ट सकेसम्म चाँडो आउँछ । तर, कहिले आउँछ भन्ने निर्धारण भइसकेको छैन,। परीक्षा फल सार्वजनिक गर्ने निर्णय बोर्डले गर्ने हो ।
बोर्डको बैठक अहिले बसिसकेको छैन । सम्भवतः आज साँझसम्म बोर्डको बैठक बस्ने बताइएको छ । यस वर्ष असार ६ गतेभित्रमा एसईईको नतिजा सार्वजनिक गर्नेगरी बोर्डले कार्यतालिका बनाएको थियो ।
२०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।














