जनकपुर, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरिएको छ । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो ।
त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए । घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए ।














