काठमाडौँ, २७ जेठ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा र मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
उनीहरुले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए ।














