काठमाडौँ, २५ जेठ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्ने अवस्था चाँडै अन्त्य हुने बताएका छन् ।
आईतवार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताए ।
उनले भने, “अब पानीका लागि ट्याङ्करको भर पर्ने दिन सकिए । असारमा पनि मेलम्चीको पानी बन्द हुने छैन । नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै विकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।
” मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए । साथै उनले आगामी दिनमा सबै शहरी क्षेत्रमा सुरक्षित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।














