काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।
निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले घोर भत्र्सना गरेको राप्रपाको निर्णयमा भनिएको छ ।
प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा.दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ ।














