काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न ६ निर्णय गरेका हुन् ।
सोहीअनुसार विपद् प्रतिकार्य तथा महामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरूसँग मन्त्री पौडेलले डाकेको बैठकले पूर्व तयारीको काम थालिहाल्ने निर्णय गरेको हो।
अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।














