काठमाडौँ, ११ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छिन् ।
गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा राणाले भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता तथा छलफल नेपालका लागि महत्त्वपूर्ण रहेको बताइन् ।
उनले जापानका विदेशमन्त्री इवाया ताकेसीसँग टोकियोमा भएको द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हितका विषय र साझा चासोका मुद्दाहरूमा गहन छलफल भएको बताइन् ।
साथै, जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष डा तानाका अकिहिकोसँगको भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन् ।
त्यसैगरी, मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकि थिइन् ।














