जनकपुर, ८ जेठ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् ।
अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
बिहीबार भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव सङ्कलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताए ।
कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रस्ट्याए ।
सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।














