काठमाडौं, ७ जेष्ठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएको हो । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो ।
समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् । पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।
अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भइसकेका पौडेलले इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष, कोलम्बोको योजना परिषद् अध्यक्ष र रिजनल इकोनोमिक कर्पोरेसन एन्ड इन्टिग्रेसनको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।














