काठमाडौँ, ३१ बैशाख । पत्रकार फणि महतको निधन भएको छ । विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४५ वर्षीय महतको गएराति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका– ४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत उनी नेकपा एमालेनिकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए ।
ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए ।
उपचारमा ठूलो धनराशि खर्च भएपछि पछिल्लो समय उनको उपचारमा विभिन्न दाता र हितैसीहरुलेसमेत आर्थिक सहयोग गरेका थिए ।














