जनकपुरधाम, ३० बैशाख । मधेश प्रदेशमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरप्रति व्यापक गुनासो उठिरहेका बेला प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका छन् ।
आज धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले शिक्षा क्षेत्रमा देखिएको बेथिति तथा विसङ्गतिहरु सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडा मा अनुगमनका क्रममा कतिपय विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहे पनि तिनको नाम सरकारी विद्यालयमा कायम गरी छात्रवृत्ति र खाजा सुविधा लिइएको तथ्य उजागर गरेका हुन् । मुख्यमन्त्री सिँहले शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पालिकाका पदाधिकारी तथा अभिभावकहरूसँग समस्या समाधानका उपायबारे छलफल गरेका थिए ।
छलफलको क्रममा मुख्यमन्त्री सिंहले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले आफ्नो भूमिका इमान्दार रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।














