चितवन, ३० बैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।
विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो । सीटीइभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए।
कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने जनाउँदै रकम लिएको गुनासोसमेत आएको जनाउँदै उनले अब यस्तो समस्या नहुने स्पष्ट पारेका छन ।
आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए ।














