काठमाडौं, २६ बैशाख । मानव अधिकार तथा शान्ति समाजले पाकिस्तानी दूतावासमा पनि प्रदर्शन गरेका छन् ।
कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले महाराजगंजस्थित पाकिस्तानी दूतावासअघि भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजदूतमार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर दुई देशको युद्ध अन्त्य गर्न आग्रह समेत गरेको हो ।
मानव अधिकारकर्मीहरुले पछिल्लो चरणमा दक्षिण एशियाका दुई राष्ट्रहरु भारत र पाकिस्तानबीच बढ्दो तनाव र झडप दक्षिण एशियाका लागि मात्र नभएर विश्व शान्तिकै लागि चिन्ता र खतराको विषय भएको बताउँदै भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न, विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवद्र्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् ।
यसअघि मानवअधिकारकर्मीहरुले लैनचौरस्थित भारतीय दूतावासमा पनि प्रदर्शन गरेका थिए ।














