काठमाडौँ, २५ वैशाख । व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको छ ।
अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ ।
यस्तै भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने क्रममा २०७४ साल यता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।














