जनकपुर, २२ वैशाख । दाइजोमा मोटरसाइकल समयमा नदिएको भन्दै जनकपुरमा करिब १८ वर्षीया गर्भवती युवतीको हत्या गरिएको आरोप मृतकका परिवारले लगाएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीकी ज्योती साहको सात महिना अघि जनकपुर–१३ का किसान साहसँग विवाह भएको थियो । विवाहका बेला ससुरा पक्षले मोटरसाइकल लिने सर्तमा सहमति जनाएका थिए ।
तर, समयमा नदिएको भन्दै बारम्बार कुटपिट गरेको माइती पक्षले बताएका छन । केहि दिन अघि माइतीबाट फर्किएकी ज्योती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
जनकपुरको प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो । परिवारजनका अनुसार, उनको टाउकोमा गम्भीर चोट, हात भाँचिएको र शरीरमा नीलडाम देखिएको छ ।
उनी तीन महिनाकी गर्भवती थिइन् । धनुषा प्रहरीका अनुसार, पति किसान साहलाई नियन्त्रणमा लिइएको छ । पोष्टमार्टम रिपोर्ट पछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।














