काठमाडौं, २१ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्दैै नयाँ अभियानको घोषणा गरेको छ ।
बैठकले गत फागुन १२ गतेदेखि सुरु गरिएको हुलाकी राजमार्गकेन्द्रित अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले यो माओवादीको मात्र नभइ सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्ष निकालेको छ ।
त्यस्तै उक्त अभियानमा सहभागी हुनेहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रस्ताव बैठकले पारित गरेको छ । बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको समेत उल्लेख गरिएको छ ।














