जनकपुर, २१ वैशाख । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले मनोमानी ढंगले नगरपालिका सञ्चालन गरेको आरोप उपप्रमुख रचना श्रेष्ठ माथेमाले लगाएकी छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले नगर प्रमुखले विकास कार्यमा एकलौटी व्यवहार गर्दै स्थानीय शासन प्रणालीको अपमान गरेको आरोप लगाइन् ।
अब चालू आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी छ, तर अहिलेसम्म विकास योजना अगाडि बढ्न सकेको छैन उपप्रमुख श्रेष्ठले भनिन्, ।
उपभोक्ता समिति गठनदेखि कर्मचारी व्यवस्थासम्म नगर प्रमुखले एकलौटी ढंगले काम गर्दै आएका छन् । योजना सञ्चालन गर्नुपूर्व उपभोक्ता समिति गठन गरिनुपर्ने संवैधानिक प्रक्रिया बेवास्ता गर्दै नगर प्रमुखले आफ्ना निकटका व्यक्तिहरूलाई मात्र समितिमा राख्ने गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत डेढ वर्षदेखि पदस्थ भए पनि समन्वय नगरी चेकमा हस्ताक्षर गर्नका लागि मात्रै कार्यालय आउने गरेका छन् । लेखा अधिकृतसमेत नगर प्रमुखकै इसारामा काम गर्ने गरेको आरोप उनले लगाइन् ।
नगरपालिकाका योजनासम्बन्धी रेडबुकसमेत वडाध्यक्ष तथा वडासचिवहरूलाई नदिइएको भन्दै श्रेष्ठले नगरपालिकाको कार्यशैलीप्रति प्रश्न उठाइन् ।
यसैगरी वडा नं. ४ का वडाध्यक्ष जगदिस यादवले पनि नगर प्रमुखले स्थानीय तह सञ्चालन ऐन, २०७४ विपरीत काम गरिरहेको आरोप लगाए ।
तीन वर्षको कार्यकाल बित्न लाग्दा पनि नगर प्रमुख बाहुबली शैलीमा नगर चलाउँदैछन् । नगर सभाबाट पारित योजनाहरु सञ्चालनमा आएका छैनन्,” उनले भने ।
नगर प्रमुख यादवबाट विकासको अवरोध भइरहेको आरोपसँगै उपप्रमुख र वडाध्यक्षले नगरवासीको ध्यानाकर्षण गराउँदै स्थानीय तहमा विधिको शासन स्थापनाका लागि नागरिक सचेतना र निगरानी आवश्यक रहेको बताएका छन् ।














