काठमाडौं, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् ।
उनले मुलुकमा निरकुंशता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए । जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै प्रश्न गरे ।
हिजोको शासक आज पनि शासक छन्’उनले भने–‘व्यवस्था बदलेर मात्र हुँदैन, शासन–सत्ता पनि बदल्नुपर्छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए । कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, पार्टीका वरिष्ठ नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायतले बोलेका थिए ।














