जनकपुर, १९ वैशाख । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार भएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको बताए । घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् । जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो फरार रहेको डिएसपी पासवानले जानकारी दिए । प्रहरीका अनुसार जिवछका छोरा मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो ।
त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । यो घटना बुधबारको भए पनि ढिलोमात्र सार्वजनिक भएको छ ।














