काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन् ।
बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गरे ।
यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुनहरू नेपाली काँग्रेसको सरकार (आफू प्रधानमन्त्री) रहेकै बेलामा आएको बताए ।
सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्ने दाबी गरे ।














