काठमाडौँ, १६ वैशाख । नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।
सम्पूर्ण कार्यकारिणी सदस्यलाई आफ्नो नागरिकता र मतदाता परिचयपत्र लिएर आउन पार्टीले सूचित गरेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको सम्पूर्ण तयारी पूरा भएको छ ।
वैशाख १७ गते पार्टी एकता घोषणा हुँदैछ । पार्टीको नाम जनमत पार्टी रहने छ भने चुनाव चिह्न ढकिया रहने सहमति भएको छ । त्यस्तै पार्टीको कार्यकारी अध्यक्षमा डा. सीके राउत, संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने तय भएको छ ।
संरक्षक रेशम चौधरीसहित ५१ सदस्यीय पदाधिकारीमा दुवै पार्टीबाट २५–२५ जना रहने छन् भने ७०० सदस्यीय केन्द्रीय समितिमा पनि दुवै पार्टीबाट आधाआधा रहने सहमति भएको छ ।
भोलि एकीकरण घोषणा भएपछि वैशाख १९ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने नेताहरूले जनाएका छन् ।














