काठमाडौं, १५ वैशाख । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ ।
आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोे छ ।
साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । यी सबैको संयुक्त प्रभावले वर्षा गराएको हो । सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद झाले जानकारी दिए ।
मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।














