काठमाडौ, ११ वैशाख । निजी मेडिकल कलेजका कार्यरत आवासीय चिकित्सकहरुले भत्ताका लागि प्रदर्शनमा उत्रिएका छन् ।
सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएको छ । उनीहरुले आज विहिवार स्वास्थ्य मन्त्रालयसम्म पुगेर प्रदर्शन गर्ने चेतावनी दिएको हो । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास रहेको छ ।
चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।
आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेको हो । उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् ।
उनीहरुले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिँदा निरन्तर दमन र धम्कीको सामना गर्नुपरेको गुनासो गरेका थिए । निजी मेडिकल कलेज सञ्चालकले यस्तो व्यवहार देखाउँदा आत्मसम्मानमाथि गम्भीर प्रहार भएको आवासीय चिकित्सक बताउँछन् ।
उनीहरुले आफ्नो यो लडाईंमा साथ दिनका लागि शिक्षक, परामर्शदाता, वरिष्ठ चिकित्सक, स्वास्थ्य संस्था, मानव अधिकार संस्था, श्रम अधिकारकर्मीलाई आवासीय चिकित्सकले अनुरोध गरेका छन् ।














