काठमाडौँ, ९ बैशाख । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको छ । रायमाझी दुर्ग प्रसाईं निकट भनेर चिनिन्छन् ।
उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।
रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् ।














