जनकपुर, ७ वैशाख। सनातन धर्मको मूल ग्रन्थ श्रीमद्भगवद्गीताको मगही भाषा अनुवादको विमोचन आइतवार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवनमा एक विशेष समारोहका बीच सम्पन्न भयो।
उक्त पुस्तकलाई प्रसिद्ध लेखक तथा मगही भाषा अभियानी उपेन्द्र दासले लेखेका हुन्। उहाँले यसभन्दा अघि पनि मगही भाषामा आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक विषयमा दर्जनौं कृति प्रकाशन गरिसक्नुभएको छ।
विमोचन कार्यक्रममा विविध क्षेत्रका विद्वान, भाषाविद्, साहित्यकार र सनातन धर्मप्रेमीहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले मगही भाषामा गीता अनुवाद हुनु भाषा संरक्षण तथा धार्मिक चेतनाको दृष्टिकोणले ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
उपेन्द्र दासले कार्यक्रममा बोल्दै भने, “मगही भाषामा श्रीमद्भगवद्गीता लेख्नु मेरो भाषा र धर्मप्रतिको प्रेमको अभिव्यक्ति हो। यो पुस्तकले मगही भाषी समुदायमा सनातन ज्ञानको पहुँच सहज बनाउनेछ।”
उनको यो पहलले भाषा विविधता र धार्मिक ग्रन्थको क्षेत्रीय अनुवादलाई नयाँ गति दिएको छ। कार्यक्रमको अन्त्यमा लेखकलाई सम्मान गर्दै आयोजक संस्थाले यस्ता कामले बहुभाषिक समाजमा समावेशी ज्ञान विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।














