काठमाडौं, ३० चैत । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म आफूहरू कार्यक्षेत्रमा नफर्किने बताएका छन् ।
शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनका क्रममा शिक्षकहरूले यस्तो बताएका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित सडक आन्दोलनमा उत्रिएको महासंघले आन्दोलन र सरकारसँगको वार्ता पनि सँगसँगै गरिरहेको छ । शिक्षकहरूको मागमा सरकारले बेवास्ता गरे शिक्षा क्षेत्र दशकौँसम्मका लागि ध्वस्त हुनसक्ने उनको भनाइ छ ।
राष्ट्रिय शिक्षक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमोदकुमार सिंहले शिक्षकहरू ऐन जारी गर्न मागसहित आन्दोलनमा उत्रिएको ११औँ दिनसम्म पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए ।
नेपाल शिक्षक महासंघ संखुवासभा जिल्ला अध्यक्ष शेरबहादुर पुरीले परिवर्तित राज्य व्यवस्थामा शासन सञ्चालन एक ढंगबाट र नीति नियम अर्कै ढंगले गरिरहेको आरोप लगाए । उनले पञ्चायती शासन कालमा जारी शिक्षा ऐन हालसम्म विस्थापित नहुनु दुःखद् भएको बताए ।














