काठमाडौं, २१ चैत । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई श्रीलंका र बंगलादेशको उदाहरण दिँदै दुई तिहाइ शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै जनता लागेपछि दुई तिहाइ सरकारको केही नलाग्ने बताए । उनले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइको सङ्ख्याले बलियो सरकार छ ।
तर सङ्ख्याले बलियो हुँदो रहेनछ । बङ्गलादेशमा दुई तिहाइको सरकार कता गयो गयो ? जनताहरू उठेपछि, त्यसै गरी श्रीलंकामा बहुमतको सरकारले भाग्दा कट्टु सम्हाल्न समेत पाएन ।
सरकार त्यो बलियो हो जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन र रक्षा गर्नसक्छ । उनले यो सरकार बनेपछि भ्रष्टाचार नियन्त्रण हुन नसकेकोदेखि देशको आर्थिक सुधार आउन नसकेको बताए ।
संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले २०८७ मा गर्छु भन्ने, जबकि यो सरकार ०८४ सम्म मात्रै चल्छ उनले थपे । त्यसैले यो सरकार अहिले कमजोर छ ।
भ्रष्टाचार बढिरहेको छ । लुटतन्त्र र विचौलियातन्त्रले जनतामा आक्रोश छ । यही मौकामा प्रतिगमनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिद्ध्याउन खोज्दैछन् ।
https://www.facebook.com/kpkhabar02/videos/670676445456215












