काठमाडौं, २० चैत । चैत १५ गते राजावादी र गणतन्त्रवादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ ।
बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै काठमाडौँको क्षेत्रपाटीनजिकैको ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो । अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए ।
रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए । एक्सरे गर्दा गोली लागेको नदेखिएको र मृत्युको कारण श्वास नलीमा धुवाँ देखिएको चिकित्सकहरूले पुष्टि गरेका थिए ।
त्यसपछि अस्पतालले परिवारलाई शव बुझाएको थियो । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा परेर उनीसहित दुई जनाले ज्यान गुमाएका थिए ।
सरकारले बुधवार नै पत्रकार रजकको परिवारलाई १० लाख रुपैँया दिने निर्णय पनि गरेको छ ।














