जनकपुर, १३ चैत । जनकपुर उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय बालक आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा पीडित परिवार र स्थानीय पुनः आन्दोलित बनेका छन् ।
मृतक आँशुका आफन्त र बिन्धीबासी जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध पारेका हुन् । उनीहरू सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण सवारीसाधन ठप्प भएको छ । फाल्गुन २ मा होली खेल्ने क्रममा साथीले नै छुरा प्रहार गरेपछि आँशुको मृत्यु भएको थियो ।
छुरा प्रहार गरेको आरोपमा त्यही दिन २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेर उनीमाथि प्रहरीले कारबाही अगाडी बढाइसकेको छ ।
पीडित परिवारले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको दाबी गर्दै उनीहरूलाई पनि पक्राउ गर्न माग गरेका छन् ।
तर घटनाको ११ दिन बितिसक्दा पनि अन्य आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै पुनः आन्दोलन थालेका छन् ।














