जनकपुर, १० चैत । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलनको घोषणा गरेको छ ।
अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ ।
सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ । त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिल कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा सुक्रिती आर्चाय (भक्तपुर) र राजेश भण्डारी (सर्लाही) चयन भएका छन् भने महासचिवमा बासुदेव डल्लाकोटी (धादिङ) चयन भएका छन् ।
सचिव पद खाली राखिएको छ भने कोषाध्यक्षमा नन्दकिशोर राम (रौतहट) सहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमार्फत महासचिव बासुदेव डल्लाकोटीको नेतृत्वमा बाँकी रहेका प्रदेश तथा जिल्ला समितिहरू जेष्ठ मसान्तभित्र गठन गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
त्यस्तै, अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन् ।














