काठमाठौं, ७ चैत । जिल्ला प्रहरी परिसर ललितका एक जना थुनुवा फरार भएका छन् ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार प्रेमिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर सातदोबाटोको हिरासतमा रहेका अछाम घर भएका दीपक साउद बुधबार पाटन अस्पतालबाट फरार भएको छ ।
उनलाई उपचारका लागि अस्पताल लगिएको र शौचालय जानका लागि हतकडी खोल्दा फरार भएको एसएसपी अधिकारीले बताए । साउदविरुद्ध उनीसँगै लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले नै बलात्कारको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
ती प्रेमिकाबाट बच्चा पनि जन्मिसकेको प्रहरीले जनाएको छ । तर पछिल्लो समय आफूलाई बेवास्ता गरेर अर्कै युवतीसँग समय बिताउन थालेको भन्दै उनले बलात्कारको आरोपमा जाहेरी दिएको प्रहरीले बताए ।
फरार साउदको खोजी कार्य भइरहेको एसएसपी अधिकारीले बताए ।