सिरहा, ७ चैत । सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना गाउँ छोरेर फरार भएका छन् ।
अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका छन् । घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए ।
तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको प्रहरी प्रमुख पण्डितले बताए । उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले जनाएका छन् ।
उनले भने, हामी घटनाबारे जानकारी लिन गएका थियौं,’ ’तर, उनीहरु सबै गाउँ छोरेर भागेका रहेछन् । गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।