जनकपुर, ७ चैत । माध्यामिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर सुरु भएको छ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का अनुसार यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
गत वर्षको तुलनामा परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको हो । देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० विद्यार्थीसम्म भएको केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थीका लागि एक निरीक्षक खटाइएको छ ।
७५ जना भन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छैन । एसईई परीक्षा चैत १९ गतेसम्म चल्नेछ र बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।














