काठमाडौं, ६ चैत । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएका छन् ।
निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीचको छलफलमा ताला खोल्ने सहमति भएको हो । स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो ।
तालाबन्दीका कारण चैत ५ गते विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।
निर्वाचन गराउने सन्दर्भमा बुधवार निर्वाचन समितिका पदाधिकारीहरुले नेविसंघका नेता विष्णु बडैला, डण्डीराज जोशी, अशोक सिंह विष्ट लगायतसँग गरेको छलफलमा ताला खोल्ने सहमति भएको निर्वाचन समितिका एक सदस्यले बताए ।
नेविसंघका नेता श्यामराज ओझाले पनि आफूहरु ताला खोल्न सहमत भएको बताएको हो । विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन गराउने मिति तोकिएको छ ।














