जनकपुर, ५ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले मंगलवार पत्रकार सम्मेलन गरेर एसईई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् । उनले प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।
मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका थिए । तर, निर्देशन विपरित केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो ।














