जनकपुर, ५ चैत । धनुषा जिल्लाको मिथिला नगरपालिका–८ स्थित जमुनिवासमा ३५ वर्षीय पुरुषको शव इनारभित्र फेला परेको छ ।
शव मृतक नारायण घिसिङको भएको पुष्टि भएको छ । परिवारका सदस्यहरूले भनेका छन् कि उनी चार दिनदेखि हराएका थिए । घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले भने, सोमबार साँझ शवको बारेमा जानकारी प्राप्त भयो ।
तर, अन्ध्यारो र कठिन परिस्थितिको कारण शवलाई इनारबाट निकाल्न सकिएको थिएन । मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर निकालियो ।
पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवास अस्पताल पठाइएका शवको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक यादवले थप भने, मृत्युको कारण र घटनाबारे अहिले यकिन गर्न सकिएको छैन ।
पोष्टमार्टम रिपोर्टले मात्र वास्तविक कारण खुलाउनेछ । यसमा अनुसन्धान भइरहेको छ । मृतक घिसिङका पिता काजीसिंह घिसिङले भने, “मेरो छोरा चार दिनदेखि हराएको थियो ।
मैले आफन्त र चिनेजानेका व्यक्तिहरूसँग फोन गरेर खोजी गरिरहेको थिएँ । सोमबार साँझ घरका केटाकेटीहरूले इनार नजिक दुर्गन्ध महसुस गरेपछि इनारको निरीक्षण गर्दा मानिसको हातखुट्टा देखिएको थियो, त्यसपछि प्रहरीलाई खबर गरे ।
मृतकको शङ्कास्पद मृत्युको कारणको अनुसन्धानलाई तीव्रता दिइएको छ र यस विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।














