जनकपुर, ३ चैत । होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि उनका आफन्त र स्थानीयहरुले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।
जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्तजन र स्थानीयहरुले प्रदर्शन गरेका छन् । उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताएका छन ।
सिंहका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो ।
प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएको छ ।
पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।