जनकपुर, १ चैत । जनकपुरमा यस वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई प्रदान गरिएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले महामूर्ख सम्मेलनमा दोस्रो दिन आज सो उपाधि मुख्यमन्त्री सिंहलाइ प्रदान गरिएको छ ।
रङ र खुसीको पर्व होलीका अवसरमा हरेक वर्ष यो सम्मेलन आयोजना हुदैँ आएको छ । यो कार्यक्रममा विशेषगरी हास्यव्यङ्ग्य र सांस्कृतिक कार्यक्रम हुने गरेको थियो ।
महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।
त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा.विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।