काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट फर्किँदा विमानस्थलमा राप्रपासहित राजावादीहरूले गरेको स्वागत यतिबेला राजनीतिक वृतमा निकै चासोको विषय बनेको हो ।
प्रचण्डले पनि नेपाली कांग्रेस र नेकपा एमाले दुई दल मिलेर कुशासन गरेका कारण राजा र राजावादीहरू सक्रिय भएको आरोप लगाएका हुन् ।
सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नाराहरू गुञ्जिरहँदा राजनीतिक दलहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् भने आजमात्रै सुदूरपश्चिम पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राजा फर्किने कुरा हल्ला मात्रै भएको तथा फर्किने कुनै माहोल नभएको बताएका थिए।














