काठमाडौ, २३ फागुन । एसईईसहित विद्यालय तहको हरेक कक्षाका अन्तिम परीक्षाको मुखमै कक्षाकोठा छाडेर विद्यालय शिक्षक र कर्मचारीहरू आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा जुटेका हुन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गते हुँदैछ भने आधारभूत तहसहित अन्य कक्षाका वार्षिक परीक्षा पनि चैतमै हुनेछ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा फागुन २४ गते ३६ हजार शिक्षकलाई अनिवार्य उपस्थत हुन सर्कुलर जारी गरेका छन् ।
यसैगरी सर्कुलरमा एउटा जिल्लाबाट बढीमा एक हजार जना र कम्तीमा ५० जनालाई अनिवार्य रूपमा काठमाडौँमा भेला हुन निर्देश गरिएको छ।विद्यालय शिक्षा विधेयकलाई संसद्बाट तत्काल पारित गर्नुपर्ने र विगतका सहमति कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।
नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षासम्बन्धी अग्रगामी कानुन ल्याउन दबाब दिने उद्देश्यले सबै शिक्षक–कर्मचारी एकजुट हुनुपर्ने बताए ।














