काठमान्डौँ, २० फागुन । सरकारले बिहीबार (फागुन २२) भित्र निर्णयार्थ संसदमा प्रस्तुत गर्न लागेको एउटा अध्यादेश फिर्ता लिने तयारी गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले आफ्नो अडान नछोडेपछि भूमिसम्बन्धी अध्योदशमा सरकार पछि हट्ने भएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश फिर्ता लिएर अन्य ५ वटा अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत गराउने निष्कर्षमा पुगेको सरकारपक्षीय स्रोतको भनाइ छ ।
आइतबार साँझ ६ बजेदेखि १० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताले जसपा नेपालको नेतृत्वसँग गरेको छलफलपछि सत्तापक्ष भूमि अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेको बालुवाटार स्रोतले बतायो।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रथम उपाध्यक्ष राजकिशोर यादव, प्रवक्ता मनीष सुमन, राष्ट्रिय सभा दलका नेता मृगेन्द्रकुमार सिंह यादव सहितका नेताहरू पार्टी केन्द्रीय समिति बैठक सकिएलगत्तै आइतबार साँझ बालुवाटार पुगेका थिए ।














