महोत्तरी, १८ फागुन । महोत्तरीको भंगहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै पालिकामा तालाबन्दी गरिएको छ ।
मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आईतवार कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका छन ।
माघ ९ मा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो ।
मेयर साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो ।
तर हालसम्म उनी नआएको मेयर साहले बताए । तीनदिन सम्म मन्त्रालय पुगेर गुनासो गरे तर मन्त्रीले भेट्न समय नदिएको भन्दै मेयर साहले आकोश व्यक्त गरे ।
प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए ।














