काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।
आइतबार बानेश्वरमा प्रदर्शन गर्न पुगेका स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएको छ ।
झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको एसपी बोहराले जानकारी गराए । उनको बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ । चोट लागेको भागमा पाँच टाँका लगाइएको एसपी बोहराले बताए ।
प्रहरीले झडपको क्रममा १२ जनालाई नियन्त्रणमा लिएको छ । सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका थिए । पुस्तौंदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू सरकारलाई सुनाउन दाङबाट काठमाडौं आएका थिए ।
यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थियो । सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हकपुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।














