जनकपुर, १७ फागुन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा २० वर्षीया अञ्जली यादवको शव आफ्नै घरकै पूजाकोठामा गाडिएको अवस्थामा परेको छ ।
स्थानीयले श्रीमान बेपत्ता भएको खबर गरेपछि अनुसन्धान गर्दा शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो १ बजे अञ्जलीको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले श्रीमान हरिराम यादवले पत्नी अञ्जलीको हत्या गरेर शव लुकाएको हुन सक्ने आशंका गरेको छ । हरिराम हाल वेपत्ता छन् भने उनीहरूकी १० महिने छोरी पनि साथमै हराइरहेकी छिन् ।
स्थानीयका अनुसार शनिबार राति दम्पतीबीच विवाद भएको थियो । आइतबार बिहान हरिरामले अञ्जली बेपत्ता भएको बताएका थिए । तर, मंगलबारदेखि उनी स्वयं पनि लापत्ता भएपछि स्थानीयले शंका गरी प्रहरीलाई खबर गरेका थिए ।
अनुसन्धानका क्रममा घरभित्र खोज्दा पूजाकोठामा शव गाडिएको अवस्थामा भेटिएको डीएसपी सिंहले जानकारी दिए । शवलाई उत्खनन गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ ।
हरिराम यादव र उनकी छोरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।