सिरहा, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको रिङ्कुकुमारी सदालाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुको घरमा पुगेर प्रचण्डले परिवारलाई आश्वासन दिएका हुन् । सामूहिक बलात्कारमा परेको केही दिनमा मृत भेटिएकी रिङ्कुलाई न्याय दिलाउन संसदमा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । उनलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजिएको थियो ।
त्यसपछि उनी मृत भृटिएकी थिइन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेता शनिबार दिवङ्गत रिङ्कुको घरमा पुगेका हुन् ।














