काठमाडौं, १४ फागुन । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको छ । खेलमा नेपालले म्यानमारमाथि केही दबाब बनाए पनि गोल निकाल्न भने सकेन ।
नेपालले खेलमा गोल गर्ने केही अवसर सृजना गरे पनि म्यानमारको बलियो डिफेन्स लाइन तोड्न नसक्दा नेपाल उपविजेतामा सिमिति बन्न पुग्यो ।
म्यानमारको जितमा यु पर खिन र कप्तान विन थेंगी टेनले गोल गरे । खेलको ६२ औँ मिनेटमा म्यानमारकी यु पर खिनको गोलमा म्यानमारले सुरुवाती अग्रता बनायो । डीबक्स नजिकबाट एक्लैले अघि बढाएको बललाइइ खिनले सेकेण्ड बार च्याप्दै बललाई पोष्टको गति दिएकी थिइन् ।
खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्रिकीकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन् । खेलको इन्ज्युरी समयमा साम्बाको फ्रिकीक प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाइन् ।
खेलको ७० औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाइन् । त्यसअघि खेलको ५५ औँ मिनेटमा विमला विकले दिएको लामो पासमा साम्बाले फ्लिक गरेको दिएको प्रहारलाई रेखा पौडेलले भेट्न सकिनन् ।
पहिलो हाफको २४ औँ मिनेटमा सान थ थ को शसक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोललाइनबाट उत्कृष्ट बचाउ गरिन् । खेलको ३५ औँ मिनेटमा साम्बाको हेडर गोलरक्षकले क्लियर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लियर गर्दा नेपालले अग्रता बनाउने सुन्दर मौका खेल फाल्यो ।
समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी गरेका थिए ।














