जनकपुर, १० फागुन । मधेस प्रदेश क्रिकेट संघले पुरुष टिमको कप्तानमा अनिल साह र महिला टिमको कप्तानमा पूजा महतोलाई नियुक्त गरेको छ ।
शनिबार बसेको संघको बैठकले पुरुष टिमका कप्तान रहेका हरिशंकर साहलाई हटाउँदै अनिल साहलाई कप्तानको रुपमा नियुक्त गरेको हो । फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी साह यसअघि मधेस टिममा खेलाडीको रुपमा मात्र खेल्ने गरेका थिए ।
संघको बैठकले हरिशंकरले विगतमा दिएका योगदानको मूल्यांकन गर्दै कप्तानको पदबाट विश्राम दिएको जनाएको छ । हरिशंकरको कप्तानीमा मधेस प्रदेश क्रिकेट टिमले केपी ओली कप जितेको थियो भने प्रधानमन्त्री कपमा शीर्ष चारमा रहँदै जय ट्रफी एलिट कपमा छनोट भएर उक्त प्रतियोगिता खेलेको थियो ।
संघले प्रधानमन्त्री कपको लागि विकास दली र सुभाष यादवलाई छनौट समितिको जिम्मा तोक्ने र नेपाल क्रिकेट संघका पूर्व छनौट समिति संयोजक दिपेन्द्र चौधरीलाई प्रधानमन्त्री कपको लागि क्रिकेट एक्सपर्टको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।














