जनकपुर, १० फागुन । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले आयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेको सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताए ।
यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेस प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कुलदीप पण्डितले जानकारी दिए ।