जनकपुर, ९ फागुन । धनुषाका एक सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामका किशोर फाउन्डेसन सुधार केन्द्रमा बुधबार साँझ निधन भएको हो । यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थियो । सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार राजकुमार लागुपदार्थ दुव्र्यसनीमा संलग्न थिए ।
घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार बिहान समर अस्पताल भर्ना गरिएको थियो । अस्पतालले सामान्य अवस्था देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ फेरि समस्या भएपछि प्रादेशिक अस्पताल लगिएको थियो ।
त्यहीँ उनको मृत्यु भएको दाबी गरिएको छ । तर, प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवका अनुसार अस्पताल ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो । परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएको हो ।
मृतककी आमाले चार दिनअघि छोराको अवस्था कमजोर देखेर घर लैजान चाहे पनि सुधार केन्द्रले भने मानेको थिएन । प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताएका छन् । राजकुमार घरका एक्ला छोरा थिए । उनका दुई सन्तान छन् भने उनका पिता वैदेशिक रोजगारीमा छ । उनको परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।














