काठमाडौँ, ८ फागुन । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको थियो ।
यी औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बीपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, काठमाडौँ र पाटन अस्पताल, ललितपुरमा उपलब्ध हुनेछन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।
डब्लुएचओका अनुसार नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशतभन्दा कम छ । जबकि उच्च आय भएका देशमा दर ८० प्रतिशतभन्दा बढी छ ।














